
ओमानविरुद्धको वार्मअप म्याचमा नेपाल ६ विकेटले विजयी भएको छ। आईसीसी टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले शनिबारको खेलमा ओमानले दिएको १११ रनको लक्ष्य १७ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो।

नेपालका ओपनर आसिफ शेखले ६१ रनको शानदार अर्धशतक प्रहार गरे भने कप्तान रोहित पौडेलले २५ रन जोडे। कुशल भुर्तेल र कुशल मल्लले क्रमशः ११ र १० रन बनाए।

ओमानले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाउँदै ११० रन बनाएको थियो। नेपालका बलर सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए।

ओमानमा जारी तयारीअन्तर्गत नेपालले अर्को वार्मअप म्याचपछि समूह चरणको खेल खेलेर कुवेत र जापानसँग प्रतिस्पर्धा गर्नेछ। समूह विजेता सुपर सिक्समा पुग्नेछ भने शीर्ष तीन टोलीले टी–२० विश्वकपमा स्थान पाउनेछन्।
































