
आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एशिया प्यासिफिक छनोटमा नेपाल र जापान ‘सुपर सिक्स’ चरणमा प्रवेश गरेका छन्।

बिहीबार समूह ‘बी’को खेलमा जापानले कुवेतलाई हराएपछि दुवै टोलीले अर्को चरणमा स्थान सुरक्षित गरे। नेपालसँग पहिले नै पराजित भएको कुवेत जापानविरुद्ध पनि हार्दै बाहिरिएको छ। अब शुक्रबार नेपाल र जापान आमनेसामने हुनेछन्, जसले ‘सुपर सिक्स’मा अतिरिक्त अंकसहित अगाडि बढ्नेछ।

बिहीबारको खेलमा जापानले १७८ रनको लक्ष्य १९ ओभर ३ बलमै पूरा गर्दै जित हात पारेको हो। जापानका इसाम रहमानले ३९ बलमा ६ चौका र ३ छक्कासहित ६४ रनको उत्कृष्ट पारी खेले। कप्तान केन्डल काडोवाकी फ्लेमिङ र सबारिश रविचन्द्रनले क्रमशः २८ र ३९ रनको योगदान दिए।

फ्लेमिङको आक्रामक सुरुवातपछि रहमानको जिम्मेवार ब्याटिङले जापानलाई सहज जित दिलायो।
































