हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको छ। हाल शव इजरायलको सैनिक अस्पतालमा राखिएको छ।
इजरायलस्थित नेपाली दूतावासका अनुसार डिएनए परीक्षण लगायत आवश्यक प्रक्रिया पूरा भएपछि मात्र शव नेपाल पठाउने प्रक्रिया सुरु हुनेछ। राजदूत धनप्रसाद पण्डितका अनुसार, “हमासले बुझाएको शव डिएनए परीक्षणपछि मात्र पुष्टि हुन्छ। रिपोर्ट आउन करिब चार घण्टा लाग्ने छ। त्यसपछि कफिनमा बन्द गरेर नेपाल पठाइने छ।”


कञ्चनपुरका विपिन अध्ययनको सिलसिलामा इजरायल पुगेका थिए। अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणमा उनी बन्धक बनेका थिए। सो आक्रमणमा १० नेपाली विद्यार्थी मारिएका थिए।
इजरायल र हमासबीच युद्धविराम भएपछि मात्र मंगलबार इजरायली सेनाले विपिनको मृत्यु पुष्टि गरेको र हमासले शव हस्तान्तरण गरेको जनाएको छ।