
सन् २०२६ को टी–२० विश्वकप अन्तर्गत भारतविरुद्धको समूह चरणको खेल बहिष्कार गर्ने पाकिस्तान सरकारको घोषणाले अन्तर्राष्ट्रिय क्रिकेटमा तरंग ल्याएको छ। सामाजिक सञ्जाल ‘एक्स’ मार्फत घोषणा भएको केही घण्टामै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विज्ञप्ति जारी गर्दै यस निर्णयले पाकिस्तानी क्रिकेटलाई दीर्घकालीन क्षति पुर्याउने चेतावनी दिएको छ।

आईसीसीले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) बाट औपचारिक जानकारी नआए पनि ‘छानिएका खेल मात्र खेल्ने’ प्रवृत्ति विश्वकपको निष्पक्षता र प्रतिस्पर्धाको मर्मविपरीत हुने स्पष्ट पारेको छ। फेब्रुअरी १५ मा तय भारत–पाकिस्तान खेल प्रतियोगिताकै सबैभन्दा धेरै आर्थिक लाभ दिने खेल मानिन्छ।

आईसीसीले सरकारको भूमिकालाई सम्मान गरे पनि यस निर्णयले समर्थक र स्वयं पाकिस्तानी क्रिकेटको हित नहुने जनाएको छ। समूह ‘ए’ मा रहेको पाकिस्तानले भारतविरुद्ध खेल बहिष्कार गरेमा महत्वपूर्ण २ अंक गुमाउनुका साथै नेट रनरेटमा ठूलो घाटा बेहोर्नुपर्नेछ।

































