
चुनाव लोकतन्त्रको आधार स्तम्भ हो। आचारसंहिता केवल उम्मेदवार वा राजनीतिक दलका लागि मात्र होइन, मतदाताका लागि पनि उत्तिकै लागू हुने विषय हो। निर्वाचन आयोग ले निष्पक्ष, शान्तिपूर्ण र मर्यादित निर्वाचन सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने जनाएको छ। सचेत र अनुशासित मतदाता बिना स्वच्छ चुनाव सम्भव हुँदैन।

आयोगका अनुसार मतदान केन्द्रमा जाँदा प्रज्वलनशील पदार्थ, मोबाइल वा क्यामेरा लैजान पाइँदैन। नशालु पदार्थ सेवन गरी मतदान गर्न जानु निषेध छ। झुट्टा अफवाह वा भ्रामक सूचना फैलाएर कसैलाई मतदानबाट वञ्चित गराउने कार्य दण्डनीय मानिन्छ।

त्यस्तै, दल वा उम्मेदवारको चुनाव चिह्न अंकित कपडा, लोगो, ब्याच, स्टिकर वा ट्याटु प्रदर्शन गर्न पनि रोक लगाइएको छ। सामाजिक सञ्जालमार्फत तथ्यहीन सामग्री प्रचार–प्रसार नगर्न आयोगले आग्रह गरेको छ। मतदाताले आचारसंहिता पालना गर्दा मात्रै जनमतको वास्तविक अभिव्यक्ति सुनिश्चित हुन्छ।

































