
शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री देउवा बुधबार राति ११:३० बजे विमानमार्फत सिंगापुर गएका हुन्। विमानस्थल सुरक्षा स्रोतका अनुसार उनी स्वास्थ्य जाँच तथा उपचार प्रयोजनका लागि विदेश गएका हुन्।

निर्वाचन हुन अब एक साता मात्रै बाँकी रहेका बेला उनको विदेश प्रस्थानलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। यसपटक उनी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार छैनन्। डडेल्धुराबाट सात पटक निर्वाचन लडेका देउवा यसपटक चुनावी प्रतिस्पर्धाबाट बाहिर रहेका छन्।

विशेष महाधिवेशनपछि पार्टी सभापति पदबाट अलग भएपछि उनी सक्रिय राजनीतिमा केही निष्क्रिय देखिँदै आएका छन्। सिंगापुर बसाइ कति समय रहने भन्नेबारे आधिकारिक जानकारी प्राप्त नभए पनि उपचार सम्पन्न गरी छिट्टै स्वदेश फर्कने निकट स्रोतले जनाएको छ।

































