सीमामा कडाइ बढ्दा रौतहटमा तस्कर भागाभाग, सुरक्षा व्यवस्था थप मजबुत

Image
Nisarga Hospital

खुला सीमाका कारण सुरक्षा चुनौती र तस्करीको जोखिममा रहने रौतहटमा पछिल्लो समय सुरक्षा व्यवस्था उल्लेखनीय रूपमा कडा बनाइएको छ। गृहमन्त्रीको सीमा क्षेत्रको आकस्मिक अनुगमनपछि तस्करी नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न दिइएको निर्देशनसँगै जिल्ला प्रहरी कार्यालय रौतहटले सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाएको हो।

CP Hospital Dhangadhi

प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार जिल्लाका अति संवेदनशील क्षेत्रमा रणनीतिक रूपमा प्रत्येक पाँच किलोमिटरको दूरीमा प्रहरी पोस्ट वा मोबाइल गस्ती परिचालन गरिएको छ। गौर, चन्द्रनिगाहापुर र गरुडासहित जिल्लाभरका १० इलाका प्रहरी कार्यालय र विभिन्न प्रहरी पोस्टमा करिब ९०० प्रहरी जनशक्ति खटाइएको छ।

जिल्ला प्रहरीका प्रवक्ता डीएसपी वसन्त गौतमले बारा, पर्सा र सर्लाहीसँग अन्तरजिल्ला समन्वय तथा सूचना आदानप्रदानलाई सुदृढ बनाइएकाले सीमा सुरक्षामा थप प्रभावकारिता आएको बताए। तस्करीमा संलग्न व्यक्तिमाथि राजनीतिक वा अन्य कुनै दबाब नमानी कारबाही अघि बढाइएपछि सीमा क्षेत्रमा सक्रिय गिरोहहरू कमजोर बन्दै गएको प्रहरीले जनाएको छ।

nawajiwan
Attariya Hospital

यस अभियानका कारण ठूलो परिमाणमा अवैध सामान बरामद हुनुका साथै गौर भन्सारको राजस्व संकलनमा पनि वृद्धि भएको छ। उता बाराको सिम्रौनगढ क्षेत्रमा पनि चोरबाटोमा निगरानी बढाइएपछि पछिल्लो आठ महिनामा एक करोड १० लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरिएको छ।

नेपाल प्रहरीले ‘जिरो टोलरेन्स’ नीति र समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत सीमा क्षेत्रमा सूचना सञ्जाल बलियो बनाएको दाबी गर्दै सीमावर्ती अपराध, हुन्डी कारोबार र तस्करी नियन्त्रणमा सकारात्मक उपलब्धि हासिल भएको जनाएको छ।