
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सीमित स्रोत–साधनका बाबजुद इमानदारीपूर्वक काम गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकार निरन्तर सक्रिय रहेको बताएकी छन्।

शनिबार रामेछापको मन्थलीमा आयोजित भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गौतमले विगतमा अपेक्षाअनुसार कामको गति बढ्न नसकेको स्वीकार गर्दै वर्तमान सरकारले देखिएका समस्या छिटो समाधान गर्न प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गरिन्।
उनले देशको समग्र विकासका लागि नेतृत्व तह इमानदार हुनुपर्नेमा जोड दिँदै सीमित सरकारी स्रोतको पारदर्शी र प्रभावकारी उपयोग गर्दै सामूहिक रूपमा अघि बढे उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने बताइन्। साथै कर्मचारीतन्त्रमा देखिएका कमजोरीलाई क्रमशः सुधार गर्दै लैजाने सरकारको प्रतिबद्धता पनि व्यक्त गरिन्।


मन्त्री गौतमले कानुन निर्माण तथा सुधारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आवश्यक संशोधनका लागि सरोकारवालाबाट रचनात्मक सुझावको अपेक्षा गरिएको बताइन्। कानुनी सुधारसँगै विकास निर्माणलाई समान प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको उल्लेख गर्दै उनले नागरिकलाई आशावादी रहन आग्रह गरिन्।
यस्तै, कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षका लागि विकास निर्माणमा आवश्यक बजेट व्यवस्थापन भइसकेको जानकारी दिए। उनले स्थानीय तहका जनप्रतिनिधि र पालिका प्रमुखहरूलाई प्राथमिकताका योजना लिएर मन्त्रालयमा आउन आग्रह गर्दै बजेट अभावका कारण कुनै योजना नरोकिने विश्वास दिलाए।
मन्त्री लम्सालले पालिका केन्द्रसम्म सडक सञ्जाल विस्तार तथा जोड्ने सडकहरूको कालोपत्रे कार्य सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्दै स्पष्ट योजना र आवश्यक मागसहित आए विकासका कामलाई तीव्र गतिमा अघि बढाइने बताए।































