
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा चर्चित जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई गृहमन्त्री बनाउने निर्णय भएको छ। रास्वपा सभापति रवि लामिछाने र बालेन्द्र शाह (बालेन)सहित शीर्ष नेताहरूबीचको छलफलपछि उनलाई सरकारको शक्तिशाली मन्त्रालय गृहमन्त्रालयको जिम्मेवारी दिने सहमति भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले बालेन शाहलाई संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मन्त्रिपरिषद् विस्तारको प्रक्रिया अघि बढाइएको हो। सोही क्रममा रास्वपाले गुरुङलाई गृहमन्त्रीका रूपमा पठाउने निर्णय गरेको बताइएको छ।
गोरखा–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित गुरुङ ‘हामी नेपाल’ संस्थाका संस्थापक अध्यक्ष हुन्। भूकम्प, कोभिड महामारी तथा विभिन्न विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनी सामाजिक अभियन्ताका रूपमा चिनिँदै आएका थिए। २०७२ सालको भूकम्पपछि उनले राहत तथा उद्धार कार्यमा उल्लेखनीय योगदान दिएका थिए।


शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र सामाजिक विसङ्गति विरुद्ध अभियान चलाउँदै आएका गुरुङ पछिल्ला जेनजी आन्दोलनपछि राष्ट्रिय राजनीतिमा शक्तिशाली रूपमा उदाएका हुन्। उनी आन्दोलनका स्वयम्सेवक तथा समन्वयकर्ताका रूपमा समेत सक्रिय थिए।
राजनीतिक वृत्तमा उनको प्रवेश र द्रुत उदयले व्यापक चर्चा पाएको छ। आलोचकहरूले आन्दोलन ‘हाईज्याक’ गरेको आरोप लगाए पनि समर्थकहरूले उनलाई परिवर्तनको प्रतिनिधि युवा नेतृत्वका रूपमा हेरेका छन्।
निर्वाचनमा गोरखा–१ बाट नेपाली कांग्रेसका उम्मेदवारलाई ठूलो मतान्तरले पराजित गर्दै उनी संसदमा प्रवेश गरेका थिए। अब उनी देशको सुरक्षा तथा गृह प्रशासन सम्हाल्ने जिम्मेवारीमा देखिन लागेका छन्।
































