
सरकारले विभिन्न संस्थाले सञ्चालन गर्दै आएका प्रवेश परीक्षा तयारी कक्षा तथा ब्रिज कोर्स आगामी वैशाख १ गतेदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको मनोविज्ञानमा नकारात्मक असर पार्नुका साथै शिक्षामा समतामूलक पहुँचमा बाधा पुर्याउने र अभिभावकमाथि अनावश्यक आर्थिक बोझ थप्ने गरेको निष्कर्ष निकालिएको छ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा विद्यालय तथा उच्च शिक्षामा भर्ना प्रक्रिया सुरु हुनुअघि नै भर्ना लक्षित गरी यस्ता कक्षा सञ्चालन हुँदै आएको उल्लेख गरिएको छ। सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाका अनुसार चैत १३ गते मन्त्रीस्तरीय निर्णय भइसकेको र सोहीअनुसार कार्यान्वयन गर्न निर्देशन दिइएको हो।

मन्त्रालयले वैशाख १ गतेदेखि यस्ता कार्यक्रम पूर्ण रूपमा बन्द गराउन तथा अनुगमनलाई कडाइका साथ लागू गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। निर्णयविपरीत कार्यक्रम सञ्चालन गर्ने संस्थामाथि प्रचलित कानुनअनुसार कारबाही गरिने पनि स्पष्ट पारिएको छ।

































