
सामुदायिक वन उपभोक्ता समितिको कोषमा करिब १२ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कर्णाली प्रदेश सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ स्थित मालिका सामुदायिक वन उपभोक्ता समितिको कोषमा आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्म अनियमितता भएको हो। समितिका अध्यक्ष अमरबहादुर दानी, कोषाध्यक्ष सावित्रा अधिकारी, सचिव तेजेन्द्रबहादुर वयक क्षेत्री र सदस्य अधिकारीसहित पाँच जनाले आपसी मिलेमतोमा रकम दुरुपयोग गरेको आरोप छ।

उनीहरूले निर्णय, बिल तथा भरपाई बिना नै खर्च देखाउने, नक्कली कागजात बनाएर सडक निर्माण तथा अन्य कार्यमा भुक्तानी लिने, तथा लेखापरीक्षण शुल्कसमेत अनियमित रूपमा खर्च गरेको पाइएको अख्तियारले जनाएको छ। काठ बिक्रीको रकम समितिको खातामा जम्मा नगरेको, वन मुद्दा तथा साक्षी खर्चका नाममा ठूलो रकम निकालिएको पनि उल्लेख छ।

साथै, व्यक्तिगत प्रयोजनका लागि बसाइँ सर्ने खर्च, व्यक्तिगत जरिवाना तिर्न र अन्य निजी काममा समेत समितिको कोष प्रयोग गरिएको देखिएको छ। कुल १२ लाख १८ हजार ५१२ रुपैयाँ हिनामिना भएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। विभिन्न शीर्षकमा करिब ५ लाखभन्दा बढी रकम बिना प्रमाण खर्च देखाइएको पनि आयोगको दाबी छ।































