
सर्वोच्च अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्काको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै आवश्यक कागजात तत्काल पेश गर्न आदेश दिएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले ललितपुर जिल्ला अदालतबाट म्याद थप सम्बन्धी पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोधपत्र र थुनाको कारणसहितको लिखित जवाफ बिहीबार १२ बजेसम्म बुझाउन निर्देशन दिएको हो।

खड्का सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका हुन्। विभागको चैत ३० को पत्रका आधारमा ललितपुर जिल्ला अदालतले तेस्रो पटक ३ दिनको म्याद थप गरेको उल्लेख छ। तर, सो सम्बन्धी कागजात अपूर्ण देखिएपछि सर्वोच्चले स्पष्ट विवरण मागेको हो।

अदालतले थुनामा राख्नुको ठोस कारणसमेत पेश गर्न निर्देशन दिँदै प्रकरणलाई गम्भीर रूपमा अघि बढाएको छ।

































