
बिहीबार देवताका गुरु वृहस्पति तथा भगवान श्रीहरि विष्णुको पूजा गर्ने पवित्र दिन मानिन्छ। आज व्रत बस्दा धन, सन्तान र विद्या प्राप्त हुने धार्मिक विश्वास छ।

यस दिन माता लक्ष्मीको पनि आराधना गर्दा घरमा सुख, शान्ति र समृद्धि बढ्ने मानिन्छ। विशेषगरी शुक्लपक्षको पहिलो बिहीबारबाट व्रत सुरु गर्नु शुभ मानिन्छ।

पूजाविधिअनुसार बिहान स्नान गरी शुद्ध भई पहेँलो वस्त्र धारण गर्नुपर्छ। पहेँलो फूल र चन्दन मिसाई प्रसाद तयार गरी भगवान विष्णुलाई अर्पण गर्नुपर्छ। यसरी श्रद्धापूर्वक पूजा गर्दा भगवान प्रसन्न भई घरमा सधैं कृपा रहने विश्वास गरिन्छ।

यो व्रत ७ वा १३ महिनासम्म निरन्तर राख्ने परम्परा छ। व्रतको दिन ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जप गर्दा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।




























