
यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा पुनः समायोजन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ। विभागले यात्रुवाहक सवारीका लागि ९.८ प्रतिशत, पहाडी ढुवानी सवारीमा करिब १४ प्रतिशत र तराईमा १२ प्रतिशत भाडा समायोजन गर्न सिफारिस गरेको हो।

यसअघि चैत २५ गते अन्तरप्रदेश रुटमा भाडा बढाइएको थियो। त्यसअनुसार यात्रुवाहक सवारीमा १६.७१ प्रतिशत, पहाडी ढुवानीमा २१.६८ प्रतिशत र तराईमा १५.७५ प्रतिशत वृद्धि गरिएको थियो। तर त्यसपछि दुई पटक इन्धन मूल्य बढेपछि पुनः समायोजनको माग उठेको हो।

पश्चिम एसियाको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि नेपाल आयल निगमले वैशाख ३ गतेदेखि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरेको थियो। यसअघि चैत २६ गते पनि डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ वृद्धि भएको थियो।

डिजेलमा कुल ५५ रुपैयाँ वृद्धि भएपछि यातायात व्यवसायीले भाडा बढाउन दबाब दिँदै आएका छन्, जसका कारण सरकारमाथि निर्णयको चाप बढेको छ।





























