
गुल्मीको धुर्कोट गाउँपालिकामा चट्याङ पर्दा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीय बसन्ता परियारको घरमा परेको चट्याङका कारण आगलागी हुँदा सम्पूर्ण संरचना नष्ट भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा कुनै मानवीय क्षति भने भएको छैन। तर घर जलेपछि परियारको ६ सदस्यीय परिवार विस्थापित बनेको छ। उनीहरू हाल छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी धुर्कोटबाट प्रहरी सहायक हवल्दार हर्कबहादुर साउदको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। उक्त स्थान प्रहरी चौकीबाट करिब १३ किलोमिटर पश्चिममा पर्दछ।

प्रहरीले क्षतिको विवरण संकलन गर्नुका साथै स्थानीयसँग समन्वय गरी पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएको जनाएको छ।





























