
रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ। रुकुम पूर्वबाट जलजलातर्फ वैशाख पूर्णिमाको मेलामा सहभागी हुन जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जिप भिरबाट करिब ८ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलमै प्रारम्भिक रूपमा १७ जनाको मृत्यु भएको पुष्टि भए पनि थप तीन जनाको शव फेला परेसँगै मृतक संख्या २० पुगेको हो। मृतकहरूको परिचय हालसम्म सार्वजनिक हुन सकेको छैन।

रोल्पाका डीएसपी वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको टोली उद्धार तथा खोजी कार्यमा खटिएको छ। दुर्गम भूगोल र जोखिमपूर्ण क्षेत्रका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ भने घटनाले स्थानीय क्षेत्रमा शोकको माहोल सिर्जना गरेको छ।






























