
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा पर्याप्त सूचना, समय र तयारी नदिई गरिएको कार्यप्रति असन्तुष्टि जनाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बस्ती हटाउँदा मानवीयता र व्यवहारिकता दुवै पक्षमा ध्यान दिन नसकिएको टिप्पणी गरे। पर्याप्त तयारीबिना डोजर प्रयोग गर्नु गलत भएको उनको भनाइ थियो।

पौडेलले सुकुम्वासी बस्तीमा ‘हुकुम्वासी मात्रै छन्’ भन्ने धारणा गलत भएको भन्दै वास्तविक सुकुम्वासीको पहिचान गरी पुनर्स्थापनाको स्पष्ट योजना बनाएपछि मात्र हटाउने प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए। उनले संवैधानिक परिषद्लाई सर्वपक्षीय र सन्तुलित बनाउनुपर्ने उल्लेख गर्दै एकपक्षीय पुनर्संरचना लोकतान्त्रिक मूल्य विपरीत हुने चेतावनी दिए।
कार्यक्रममा बोल्दै उनले झण्डै दुई तिहाइको सरकार भएकाले संख्याको दुरुपयोग हुन सक्ने भन्दै त्यसको सचेत रूपमा प्रतिवाद गर्न कांग्रेस सांसदहरूलाई आग्रह गरे।


यसैबीच, कार्यक्रममार्फत पाल्पा–१ बाट निर्वाचित सांसद सन्दीप रानालाई बधाई दिइएको थियो। रानाले आफ्नो जित पार्टी र आम जनताको योगदानको परिणाम भएको भन्दै विकास र नीति निर्माणमा सक्रिय रहने प्रतिबद्धता जनाए।
नेपाली कांग्रेस पाल्पा–काठमाडौं सम्पर्क समितिको आयोजनामा सम्पन्न कार्यक्रममा नेताहरूले कांग्रेसलाई अझ सशक्त र जिम्मेवार भूमिकामा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।































