
बैतडीको पुर्चौडी–७ स्थित कोटिला स्वास्थ्यचौकीका इन्चार्ज सुमन लुहार सहकर्मी अनमीमाथि कुटपिट गरेको आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका छन्। उनले चैत २२ गते धनगढी–१ अदालत रोड क्षेत्रमा कार्यरत अनमी माया भट्टमाथि इट्टा प्रहार गर्दै गम्भीर कुटपिट गरेका थिए।

घटनामा भट्टको टाउको र हातमा चोट लागेको प्रहरीले जनाएको छ। कुटपिटपछि तत्काल पक्राउ परेका लुहारलाई कैलाली प्रहरीको हिरासतमा राखिएको थियो। पीडित भट्टले लुहारविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गराएकी थिइन्।

कैलाली प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार अदालतले लुहारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

पीडितका अनुसार सहकर्मीसँग फोनमा कुरा गरेको विषयलाई लिएर विवाद सुरु भएको थियो। लुहारले कल डिटेल हेर्ने बहानामा नागरिकता मागेका र नदिएपछि इट्टा प्रहार गरी कुटपिट गरेको आरोप भट्टले लगाएकी छन्।































