
कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा मेडिकल कलेज)का उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीले विश्वविद्यालयको भविष्यप्रति चिन्ता व्यक्त गर्दै “भगवान्ले रक्षा गरून्” भन्ने भावनात्मक कामना गरेका छन्।

‘सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी भएसँगै स्वतः पदमुक्त भएका जोशीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रतिक्रिया दिएका हुन्। उनले विश्वविद्यालयसँग सम्बन्धित समाचार र शीर्षक शेयर गर्दै लेखेका छन्, “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई भगवान्ले रक्षा गरून्।”
उपकुलपति नियुक्ति प्रक्रिया पनि चुनौतीपूर्ण रहेको थियो। विश्वविद्यालयमा उपकुलपति पदका लागि दुईपटक विज्ञापन गर्दा समेत आवेदन नपरेपछि तेस्रोपटक प्रक्रिया खोलिएको थियो। सोही प्रक्रियाबाट २२ पुसमा प्रा.डा. जोशी उपकुलपतिमा नियुक्त भएका थिए।


तर, अध्यादेश लागू भएसँगै उनीसहित रजिस्ट्रार डा. खेमराज जोशी र सिनेट सदस्यहरू पनि पदमुक्त भएका छन्। यसले गेटा मेडिकल कलेजको प्रशासनिक संरचना पुनः अन्योलमा परेको छ।
सरकारको निर्णयपछि विश्वविद्यालयको दीर्घकालीन विकास, सञ्चालन र शैक्षिक गतिविधिमा प्रभाव पर्ने आशंका बढेको छ। स्थानीय तहदेखि स्वास्थ्य क्षेत्रसम्म यो निर्णयबारे बहस सुरु भएको छ।






























