
बैतडीमा एक प्रधानाध्यापकलाई कालोमोसो दल्दै जुत्ताको माला लगाएको घटनामा चार जना पक्राउ परेका छन्। शिवनाथ गाउँपालिका–४ स्थित पिपलकोट माध्यमिक विद्यालय लोजनीका प्रधानाध्यापक दामोदर ओझामाथि बिहीबार उक्त घटना भएको हो।

ओझामाथि एक महिलामाथि दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीमाथि सार्वजनिक रूपमा कालोमोसो दल्ने र जुत्ताको माला लगाउने कार्य गरिएको थियो। घटनाको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूका अनुसार घटनामा संलग्न रहेको आरोपमा शुक्रबार चार जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा तारा महता, उनका श्रीमान प्रेम महता, मोहन महता र शकुन्तला महता रहेका छन्।


इलाका प्रहरी कार्यालय मेलौलीबाट खटिएको टोलीले उनीहरूलाई घरबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार घटनामा संलग्न सबैलाई कानुनी प्रक्रिया अनुसार कारबाही गरिनेछ। पीडित पक्षले प्रधानाध्यापक ओझामाथि सार्वजनिक रूपमा दुर्व्यवहार गरेको आरोप लगाउँदै घाँटीमा “म अपराधी हुँ” लेखिएको पम्प्लेट समेत झुण्ड्याएको पाइएको छ। घटनाले स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना गरेको छ।































