
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले नगरवासीका लागि निःशुल्क शव चिस्यान (डेथ बडी फ्रिजर) सेवा सञ्चालनमा ल्याएको छ। नगरपालिकाले ठेक्का प्रक्रियामार्फत करिब तीन लाख रुपैयाँ लागतमा आवश्यक उपकरण खरिद गरी सेवा सुरु गरेको हो।

नगरपालिकाका पूर्वाधार शाखा प्रमुख दीपक धामीका अनुसार चिस्यान यन्त्रको प्रयोगबाट शवलाई चारदेखि पाँच दिनसम्म सुरक्षित रूपमा राख्न सकिनेछ। यसले आपतकालीन अवस्थामा परिवारलाई व्यवस्थापन गर्न सहज हुने अपेक्षा गरिएको छ।

नगर प्रवक्ता लालबहादुर ऐरले आवश्यक परेका परिवारको घरमै नगर प्रहरीमार्फत यन्त्र पुर्याउने व्यवस्था मिलाइएको जानकारी दिए। सेवा नगरवासीका लागि सहज र मानवीय सहयोगको रूपमा रहने नगरपालिकाको भनाइ छ।

यसैबीच, नगरपालिकाले आगामी असार मसान्तभित्र शव वाहन सेवा पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ। स्थानीयस्तरमा सेवा विस्तारसँगै आपतकालीन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।































