
धनगढी: आन्तरिक राजस्व कार्यालय, धनगढीले कर बक्यौता नतिर्ने ५३ व्यवसायी तथा संस्थालाई अन्तिम चेतावनी दिएको छ। कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गर्दै लामो समयदेखि कर नतिर्ने, पटक–पटकको ताकेता बेवास्ता गर्ने तथा केही सम्पर्कविहीन बनेका करदाताको नामावली सार्वजनिक गरेको जनाएको छ।

सूचनाअनुसार तोकिएको १५ दिनभित्र बाँकी कर रकम चुक्ता नगरे सम्बन्धित व्यवसायीको चल तथा अचल सम्पत्ति रोक्का गरी प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ।

कार्यालयले करदातालाई समयमै कर दायित्व पूरा गर्न आग्रह गर्दै बक्यौता नतिरे कडा राजस्व कार्यान्वयन प्रक्रिया अपनाइने स्पष्ट पारेको छ। सूचीमा धनगढीस्थित डिभोटी होटलसहित विभिन्न व्यवसायिक संस्था समावेश रहेका छन्।


































