
नेपालका चर्चित एमएमए फाइटर रवीन्द्र ढाँटले प्रतिष्ठित रोड टु यूएफसी सिजन ५ मा शानदार जित हासिल गर्दै आफ्नो अभियानलाई बलियो सुरुआत दिएका छन् ।

विश्वकै सबैभन्दा ठूलो एमएमए संस्था यूएफसीको मुख्य स्टेजमा पुग्ने ढोका मानिने यस प्रतियोगितामा ढाँटले ब्यान्टमवेट तौल समूहमा प्रतिस्पर्धा गर्दै फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गरेका हुन् ।
मकाउस्थित ग्यालेक्सी एरेनामा बिहीबार भएको क्वाटरफाइनल भिडन्तमा ढाँटले दोस्रो राउन्डमै आक्रामक प्रदर्शन गर्दै नकआउटमार्फत जित दर्ता गरेका हुन् । यस जितसँगै उनी सेमिफाइनलमा प्रवेश गरेका छन् ।




यस सिजन ५ मा विभिन्न देशका शीर्ष एमएमए फाइटरहरूले यूएफसी कन्ट्र्याक्ट हात पार्ने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता दुई दिनसम्म रोमाञ्चक भिडन्तसहित जारी रहनेछ ।
यसअघि ढाँटले भारतमा भएको मेट्रिक्स फाइट नाइट १७ मा भारतीय फाइटर चुङरेन कवरेनलाई नकआउट गर्दै टाइटल जितेका थिए ।



































