
रमेश सिंह/ बझाङः केदारस्युँ गाउँपालिकाको आयोजनामा तथा UNFPA को आर्थिक सहयोगमा “किशोरकिशोरी तथा युवा सम्मेलन २०८३” आजदेखि सुरु भएको छ। “सक्षम किशोरकिशोरी र युवा : समृद्ध पालिका” भन्ने मूल नारासहित सुरु भएको दुई दिने सम्मेलनमा गाउँपालिका भित्रका १३ वटा माध्यमिक विद्यालयका किशोरकिशोरी तथा युवाहरूको सक्रिय सहभागिता रहेको छ।

भैरव माध्यमिक विद्यालय, झोतामा आयोजित सम्मेलनको अध्यक्षता गाउँपालिका अध्यक्ष गणेश बोहराले गर्नुभएको हो। कार्यक्रममा जिल्ला समन्वय समिति बझाङका उपप्रमुख कूण्ण बहादुर बिष्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने गाउँपालिका उपाध्यक्ष मनिसा धामी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष बोहराले युवाहरूलाई सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिक बनाउन यस्ता सम्मेलन प्रभावकारी हुने उल्लेख गर्नुभयो। उहाँले किशोरकिशोरीमा नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक सोच अभिवृद्धि गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभयो।


प्रमुख अतिथि बिष्टले युवाहरूलाई समाज परिवर्तनको आधारशिला भन्दै शिक्षा, स्वास्थ्य र सचेतनाका क्षेत्रमा सक्रिय हुन आग्रह गर्नुभयो। त्यस्तै विशिष्ट अतिथि धामीले किशोरकिशोरी तथा युवाको क्षमता विकासका लागि स्थानीय तहले निरन्तर कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
कार्यक्रममा UNFPA का कार्यक्रम संयोजक गणेश शाहिले छाउपडी प्रथा, बालविवाह, किशोरकिशोरी स्वास्थ्य तथा सामाजिक सचेतनाका विषयमा सहजीकरण गर्नुभयो। उहाँले समाजमा अझै विद्यमान कुप्रथाहरू अन्त्य गर्न युवाको भूमिका निर्णायक हुने बताउनुभयो।
सम्मेलनमा सहभागी विद्यार्थीहरूलाई नेतृत्व विकास, स्वास्थ्य, शिक्षा, बालअधिकार तथा सामाजिक उत्तरदायित्वलगायत विषयमा प्रशिक्षण र अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।
































