
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीनदिने भारत भ्रमणमा जाने तयारीमा छन्। सभापति लामिछानेसहित पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिनकुमार आचार्य र सचिवालय सदस्य दीपकराज बोहरा रहने ४ सदस्यीय टोली जेठ १८ गते भारत प्रस्थान गरी २० गते स्वदेश फर्किने कार्यक्रम रहेको स्रोतले जनाएको छ। यद्यपि दुवै पक्षले औपचारिक घोषणा भने गरेका छैनन्।

यो भ्रमण सत्तारूढ दलको प्रमुखको हैसियतमा लामिछानेको पहिलो उच्चस्तरीय विदेश भ्रमण मानिएको छ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, सडक तथा राजमार्ग मन्त्री नितिन गडकरी लगायत उच्च अधिकारीसँग भेटघाट हुने सम्भावना छ।
यसअघि भारतीय प्रधानमन्त्री मोदीले लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन वार्ता गर्दै रास्वपाको चुनावी सफलतामा बधाई दिएका थिए। उनले भारत–नेपाल सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका थिए। मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो पनि दिएका थिए।


प्रधानमन्त्री शाह तत्काल विदेश भ्रमणमा नजाने अवस्थामा सभापति लामिछानेको भ्रमणलाई कूटनीतिक रूपमा महत्वपूर्ण मानिएको छ। सरकारका प्रवक्ताले प्रधानमन्त्रीको यस भ्रमणसँग कुनै सम्बन्ध नभएको स्पष्ट पारेका छन्।
पूर्वराजदूतहरूले यो भ्रमणलाई स्वाभाविक र सकारात्मक भनेका छन्। उनीहरूका अनुसार नेपाल–भारत सम्बन्धमा सरकार, दल र जनस्तरमा निरन्तर संवाद आवश्यक हुन्छ। कूटनीतिक सम्बन्धलाई मजबुत बनाउन यस्ता भेटघाट र संवाद उपयोगी हुने उनीहरूको भनाइ छ। यस भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ राजनीतिक र कूटनीतिक संवादको ढोका खोल्ने अपेक्षा गरिएको छ।
































