
नेपालको पश्चिम भू–भाग आसपास सक्रिय रहेको उपल्लो वायुमण्डलीय न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ। हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र अधिकांश तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ। विभागका अनुसार आज देशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

यता मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना औंल्याइएको छ। मौसममा हुन सक्ने परिवर्तनलाई मध्यनजर गर्दै विभागले सर्वसाधारणलाई नियमित रूपमा मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विभागले मौसम पूर्वानुमान बुलेटिन हरेक दिन बिहान ८ बजे र साँझ ६ बजे अद्यावधिक गर्दै आएको छ।

































