
हिन्दू धर्मशास्त्रअनुसार सोमबार भगवान शिवलाई समर्पित विशेष दिनका रूपमा मानिन्छ। यस दिन महादेव शिवको व्रत बसेर पूजा–आराधना गर्ने परम्परा रहिआएको छ। धार्मिक मान्यताअनुसार सोमबारको व्रत सूर्योदयसँगै सुरु भई सूर्यास्तपछि सम्पन्न हुन्छ। व्रतालुले दिनभर उपवास बसेर बेलुकाको आरतीपछि मात्र भोजन ग्रहण गर्ने चलन छ।

सोमबार शिव र माता पार्वतीको पूजा तथा स्मरण गर्ने दिन भए पनि कुनै पनि शुभ कार्य वा पूजाअर्चनाअघि भगवान गणेशको पूजा अनिवार्य मानिन्छ। श्रद्धा र भक्तिपूर्वक गरिएको सोमबारको व्रतले मनोकामना पूरा हुने, सुख–समृद्धि प्राप्त हुने तथा ज्ञान र आत्मिक शान्ति मिल्ने विश्वास छ।

विशेषगरी अविवाहित महिलाहरूले योग्य तथा असल जीवनसाथी प्राप्तिको कामनासहित सोमबार व्रत बस्ने परम्परा आज पनि समाजमा प्रचलित छ। धार्मिक आस्था, संयम र भक्ति भावको प्रतीक मानिने सोमबारको व्रत हिन्दू संस्कृतिमा विशेष महत्व राख्दछ।

































