भारतबाट पक्राउ पर्‍यो नेटवर्किङ ठगी गिरोह, १३ जना पक्राउ, सुदूरपश्चिम प्रहरीको विशेष अपरेशन सफल

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेश प्रहरीले नेटवर्किङ व्यवसायको नाममा सर्वसाधारणलाई ठगी गर्दै आएको एक संगठित गिरोहलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले भारतीय सुरक्षा निकाय र भारतस्थित नेपाली राजदूतावासको सहयोगमा सञ्चालन गरेको विशेष अपरेशनमार्फत उक्त गिरोहका १३ जना सदस्यलाई नियन्त्रणमा लिएको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार भारतीय दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश मल्लको समन्वयमा सञ्चालन गरिएको अपरेशन सफल भएको हो। प्रारम्भिक अनुसन्धानमा उनीहरूले नेटवर्किङ व्यवसायको नाममा आकर्षक आम्दानीको प्रलोभन देखाई विभिन्न व्यक्तिबाट ठूलो रकम असुलेको खुलेको छ।

स्रोतका अनुसार पक्राउ परेकाहरूलाई भारतको उत्तराखण्डस्थित एक सहरबाट नियन्त्रणमा लिइएको हो। पछि कञ्चनपुरको भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकी नाका हुँदै नेपाल ल्याइएको प्रहरीले जनाएको छ। उनीहरूलाई हिजो साँझ धनगढी पुर्‍याइएको थियो।

nawajiwan
Attariya Hospital

पक्राउ पर्नेहरूमा सागर विक, सुरज विक, प्रकाश अर्याल, दिनेश काफ्ले, पंकज विक, रित भुजेल, दीपेश तामाङ, रामबलक मण्डल, प्रभाष विक, सुमन घिमिरे, धिरज सुनुवार, विक्रम परियार र विशाल खत्री रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले वैदेशिक रोजगारी वा जागिर लगाइदिने भन्दै पीडितलाई भारत लगेर ठगी गर्ने, साथै बन्धक बनाई रकम असुली गर्ने कार्यसमेत गरेको आशंका गरिएको छ। हालसम्म ठगिएका पीडितहरू प्रहरी सम्पर्कमा आउने क्रम जारी छ भने ठगी रकम र पीडितको संख्या यकिन गर्न अनुसन्धान भइरहेको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओम रानाका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान अघि बढाइएको छ र कानुनी प्रक्रिया अगाडि बढाइँदैछ। प्रहरीले यस्ता अन्तरदेशीय अपराध नियन्त्रणका लागि भारतसँगको सहकार्य अझ सुदृढ बनाउँदै लगिएको जनाएको छ।