
कैलालीस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय को पदाधिकारी नियुक्ति प्रक्रियाप्रति स्वास्थ्य क्षेत्रसँग सम्बन्धित संघ–संस्थाहरूले गम्भीर असहमति जनाएका छन्। स्वास्थ्य विज्ञान विश्वविद्यालयको संरचना र नियुक्ति प्रक्रियामा स्वास्थ्य क्षेत्रका विज्ञ तथा प्रतिनिधिलाई बेवास्ता गरिएको भन्दै उनीहरूले विरोध जनाएका हुन्।

नेपाल चिकित्सक संघ को नेतृत्वमा ११ वटा स्वास्थ्यसम्बद्ध संघ–संस्थाले बुधबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई ज्ञापनपत्र बुझाउँदै ऐन तथा नियमावलीका विवादास्पद प्रावधान सच्याउन माग गरेका छन्। उनीहरूले विश्वविद्यालय सभा, पदपूर्ति समिति लगायतका निकायमा स्वास्थ्य क्षेत्रका प्रतिनिधिलाई समावेश नगरिएको भन्दै आपत्ति जनाएका छन्।
हाल उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि प्रक्रिया अघि बढिरहेको छ। तर, सम्बन्धित संस्थाहरूले पदपूर्ति समितिमा स्वास्थ्य क्षेत्रका विज्ञलाई संयोजक बनाएर प्रक्रिया पुनः सुरु गर्नुपर्ने माग गरेका छन्। उपकुलपतिको योग्यताका लागि तोकिएको शैक्षिक मापदण्डमा समेत उनीहरूको असहमति छ। एमसी, एमएच र पिएचडीको सट्टा एमडी, एमएस वा एमडीएसलाई मान्यता दिनुपर्ने उनीहरूको अडान छ।


स्वास्थ्य मन्त्रालयलाई समेत भूमिकाविहीन बनाइएको आरोप लगाउँदै माग सम्बोधन नभए देशव्यापी चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी स्वास्थ्यकर्मी संगठनहरूले दिएका छन्।

































