
फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मेक्सिको सिटीस्थित ऐतिहासिक एज्टेका रंगशालामा भएको खेलमा जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गर्दै घरेलु टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए।

खेलको नवौं मिनेटमै जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका थिए। दक्षिण अफ्रिकाका रक्षकले गरेको गल्तीको फाइदा उठाउँदै उनले सहज गोल गरेका हुन्। पहिलो हाफमा मेक्सिकोले थप अवसर सिर्जना गरे पनि अर्को गोल गर्न सकेन।

दोस्रो हाफमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले ४९औं मिनेटमा रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भयो। त्यसको फाइदा उठाउँदै राउल जिमेनेजले ६७औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। ८४औं मिनेटमा थेम्बा ज्वाने पनि रातो कार्ड खाँदै बाहिरिएपछि दक्षिण अफ्रिका ९ खेलाडीमा झर्यो। अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाए।

यसै खेलमा युवा स्टार गिल्बर्टो मोराले विश्वकप डेब्यु गर्दै नयाँ कीर्तिमान बनाए। जितसँगै समूह ‘ए’ मा मेक्सिकोले तीन अंक जोड्दै नकआउट यात्रातर्फ बलियो कदम चालेको छ।































