
नारायणगढ–मुग्लिन सडकखण्डमा रातिको समयमा यातायात सेवा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकाले मानवीय जोखिम न्यूनीकरणका लागि राति सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

मुग्लिनबाट करिब सात सय मिटर नारायणगढतर्फ खहरे पुल क्षेत्रमा करिब ४० मिटर माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो निरन्तर खसिरहेको छ। उक्त स्थानमा आज दिउँसो तीनपटक पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको थियो। तर पहिरो झर्ने क्रम नरोकिएपछि सुरक्षाका लागि राति सडक बन्द गरिएको हो।
































