
अत्तरिया: निजी सञ्चारमाध्यममाथि सरकारले गरेको विभेदकारी निर्णयको विरोधमा नेपाल पत्रकार महासंघको केन्द्रीय परिपत्रअनुसार कैलालीमा दोस्रो चरणको शान्तिपूर्ण धर्ना सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि आयोजित धर्नामा नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष श्रवण देउवाको नेतृत्वमा जिल्लाका सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, नागरिकको सूचनाको अधिकारको संरक्षण र सरकारको विभेदकारी निर्णय तत्काल फिर्ता लिन माग गरेका छन्।
धर्नाका क्रममा पत्रकारहरूले प्रेसमाथिको हस्तक्षेप अन्त्य गर्न, संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा निजी सञ्चारमाध्यमविरुद्ध गरिएका निर्णयहरू खारेज गर्नुपर्ने बताएका थिए। उनीहरूले लोकतन्त्रको आधार स्वतन्त्र प्रेस भएकाले सञ्चार क्षेत्रलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने स्पष्ट पारे।


महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले सरकारी विज्ञापन रोक्ने निर्णयले निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने उद्देश्य देखिएको आरोप लगाउँदै प्रेस स्वतन्त्रतामाथि असर पर्ने निर्णय फिर्ता नभएसम्म आन्दोलनलाई निरन्तरता दिइने चेतावनी दिए।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत देशभर चरणबद्ध आन्दोलन जारी रहेकामा कैलालीमा दोस्रो दिनको धर्ना शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो। पत्रकारहरूले स्वतन्त्र प्रेसमाथिको कुनै पनि हस्तक्षेप लोकतान्त्रिक मूल्य र संविधानको भावना विपरीत हुने भन्दै सरकारलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेका छन्।































