
अत्तरिया : सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ। आज बसेको प्रदेश सभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले नीति तथा कार्यक्रम पारित भएको घोषणा गर्नुभयो।

बैठकमा मुख्यमन्त्री कमल बहादुर शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रदेश सभा सदस्यहरूका सुझावलाई बजेट निर्माणमा समेटिने बताउनुभयो। उहाँले बजेट कार्यान्वयन हुने योजना तथा कार्यक्रमलाई प्राथमिकतामा राखिने र सरकार–संसद् सहकार्यलाई अझ मजबुत बनाइनेमा जोड दिनुभयो।

यसअघि जेठ १८ गते प्रदेश सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पूर्वाधार विकास, शिक्षा सुधार, कृषिमा यान्त्रिकीकरण, स्वास्थ्य सेवा विस्तार र पर्यटन प्रवर्द्धनलाई मुख्य प्राथमिकता दिइएको थियो।

प्रदेश सभाको अर्को बैठक भोलि बेलुकी ५ बजे बस्नेछ, जसमा आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीले आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउने तयारी गरेको छ।































