
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्य बदली देखिएको छ भने मधेस प्रदेशमा आंशिक बदली रहेको छ। सुदूरपश्चिम तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य पहाडी तथा तराई भूभागमा आंशिक बदलीको सम्भावना छ। कोशी प्रदेशका केही स्थान, हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थान र मधेस, बागमती तथा गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

यस्तै आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा तथा अन्य प्रदेशका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। मौसममा अचानक परिवर्तन हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

































