
अमेरिका र इरानबीच युद्धविराम घोषणा भएसँगै मध्यपूर्वमा बढेको तनाव केही मत्थर हुने अपेक्षा गरिएको छ। यद्यपि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले ऊर्जा आपूर्ति, इन्धन बजार र विश्व अर्थतन्त्रमा देखिएको असर तत्काल हट्ने अवस्था नरहेको जनाएको छ।

आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिएभाले युद्धविरामको स्वागत गर्दै ऊर्जा आपूर्ति प्रणाली र पूर्वाधारमा पुगेको क्षतिका कारण आपूर्ति पूर्ण रूपमा सामान्य हुन समय लाग्ने बताएकी छन्। अमेरिका र इरानबीचको सहमतिपछि स्ट्रेट अफ हर्मुज पुनः सञ्चालन गर्ने तयारी भए पनि विश्व बजारमा देखिएको अनिश्चितता अझै कायम रहेको उनको भनाइ छ।

आईएमएफले जुलाई ८ मा सार्वजनिक हुने विश्व आर्थिक समीक्षा (डब्ल्युइओ) मा नयाँ आर्थिक वृद्धि र मुद्रास्फीति प्रक्षेपण सार्वजनिक गर्ने जनाएको छ। यसअघि अप्रिलमा कोषले युद्धका कारण विश्व आर्थिक वृद्धिदर घट्ने र गम्भीर अवस्था आएमा वृद्धि २ प्रतिशतमा झर्न सक्ने तथा मुद्रास्फीति ६ प्रतिशतभन्दा माथि पुग्न सक्ने चेतावनी दिएको थियो।

जर्जिएभाले ऊर्जा आयातमा निर्भर देशहरू सबैभन्दा बढी प्रभावित भएको उल्लेख गर्दै अफ्रिका र एसियाका उदीयमान अर्थतन्त्रमा इन्धन अभाव र मूल्यवृद्धिले दबाब बढाएको बताइन्। आईएमएफले आवश्यक परे सदस्य राष्ट्रलाई वित्तीय तथा नीतिगत सहयोग गर्न आफू तयार रहेको पनि जनाएको छ।
































