देवलहाटको शिलालेख र पुरातात्त्विक सम्पदा संकटमा, संरक्षण अभावले बैतडीको इतिहास नै जोखिममा

Image
Nisarga Hospital

बैतडीः बैतडीको दशरथचन्द नगरपालिका–४ स्थित देवलहाटमा रहेका प्राचीन शिलालेख, मन्दिर, मूर्ति तथा पुरातात्त्विक सामग्री संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन्। इतिहासका महत्वपूर्ण प्रमाण मानिने शिलालेख र पुराना भाँडाकुँडाले बैतडीको सभ्यता, संस्कृति, धार्मिक परम्परा र सामाजिक जीवनका अनेक तथ्य उजागर गर्ने क्षमता राखे पनि सम्बन्धित निकायको बेवास्ताका कारण ती सम्पदा जोखिममा परेका हुन्।

CP Hospital Dhangadhi

स्थानीयका अनुसार देवलहाट क्षेत्रमा भेटिएका तामा, काँसा, पित्तल र माटोका पुराना भाँडाकुँडा वर्षौंदेखि उचित संरक्षणबिनै एउटा भवनमा थन्किएका छन्। धुलो, चिस्यान र समयको प्रभावले केही सामग्री जीर्ण बन्दै गएका छन् भने वैज्ञानिक अध्ययन र सूचीकरणसमेत हुन सकेको छैन। पुरातत्त्व विभागबाट विस्तृत अनुसन्धान र संरक्षणको मागसमेत स्थानीयले गरेका छन्।

Attariya Hospital

इतिहासविद्हरूका अनुसार शिलालेख र पुरातात्त्विक सामग्रीले तत्कालीन राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक अवस्थाबारे प्रमाणसहित जानकारी दिन्छन्। यस्ता सम्पदाको संरक्षण र व्यवस्थित प्रदर्शनी गर्न सके धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन हुनुका साथै विद्यार्थी र अनुसन्धानकर्ताका लागि पनि महत्वपूर्ण अध्ययन केन्द्र बन्न सक्छ।

nawajiwan

स्थानीयले तीनै तहका सरकार, सरोकारवाला निकाय र राजनीतिक नेतृत्वले संरक्षणमा प्रभावकारी पहल नगरेको गुनासो गरेका छन्। उनीहरूले देवलहाटका ऐतिहासिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा तत्काल ध्यान दिन आग्रह गर्दै यस्ता धरोहर जोगाउन सके मात्र बैतडीको गौरवशाली इतिहास भावी पुस्तासम्म सुरक्षित रूपमा हस्तान्तरण हुने बताएका छन्।