
कैलालीको गेटा विमानस्थलबाट काठमाडौँ पठाउन लागिएका करिब ४ लाख ५४ हजार रुपैयाँ बराबरका बिलविहीन फोटो स्टुडियोसम्बन्धी सामग्री प्रहरीले बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका–१३ स्थित गेटा विमानस्थलको सुरक्षा गार्ड गेटमा खटिएको प्रहरी टोलीले बुध एयरमार्फत सिटी कार्गोबाट पठाउन लागिएको सामान जाँचका क्रममा उक्त सामग्री फेला पारेको हो। प्रहरी वरिष्ठ नायब निरीक्षक राजेन्द्र बमको कमाण्डमा खटिएको टोलीले एक्स–रे मेसिनमार्फत जाँच गर्दा बिल तथा भरपाइ नभएका सामग्री भेटिएको जनाएको छ।

बरामद सामान थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको प्रहरीले जनाएको छ।

































