
रमेश बहादुर सिंह / बझाङः बझाङको जयपृथ्वी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६४ करोड ६९ लाख ६६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १८औँ नगरसभामा उपप्रमुख रतन बहादुर सिंहले बजेट प्रस्तुत गर्दै आगामी वर्षका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि आवश्यक स्रोत विनियोजन गरिएको जानकारी दिए।


प्रस्तुत बजेटअनुसार चालूतर्फ ४० करोड १५ लाख ९६ हजार रुपैयाँ तथा पूँजीगततर्फ २४ करोड ८४ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको छ। नगरपालिकाले विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, रोजगार प्रवर्द्धन र सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेको जनाएको छ।
स्थानीय आवश्यकता, जनअपेक्षा र दिगो विकासका लक्ष्यलाई ध्यानमा राखेर बजेट तयार गरिएको नगरपालिकाको भनाइ छ। विशेषगरी पूर्वाधार विस्तार, आधारभूत सेवा सुधार तथा आर्थिक गतिविधि बढाउने योजनामा बजेट केन्द्रित गरिएको उल्लेख गरिएको छ।
नगरसभामा प्रस्तुत बजेटमाथि छलफलपछि आवश्यक प्रक्रिया पूरा गरी पारित गरिने जनाइएको छ। नगर उपप्रमुख सिंहले बजेटले नगरवासीको जीवनस्तर सुधार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा समग्र विकासलाई गति दिने विश्वास व्यक्त गरे।































