
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घट्दा पनि नेपालमा इन्धनको भाउ नघटाइएको भन्दै सरकार र नेपाल आयल निगमको आलोचना गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले कच्चा तेलको मूल्य प्रतिव्यारेल ११७.६३ डलरबाट घटेर ६९.२१ डलरमा पुगेको उल्लेख गर्दै उपभोक्ताले त्यसको प्रत्यक्ष लाभ पाउनुपर्ने बताएका छन्। तर, मूल्य घट्दा पनि नेपाली उपभोक्ताले पुरानै महँगो दरमा इन्धन खरिद गर्न बाध्य हुनु दुःखद भएको उनको भनाइ छ।

पौडेलले आयल निगमले ‘कच्चा नभई प्रशोधित तेल खरिद गर्ने भएकाले मूल्य तत्काल नघट्ने’ तर्कलाई बहाना मात्र भएको टिप्पणी गरेका छन्। कच्चा तेलको मूल्यमा ठूलो गिरावट आइसकेपछि प्रशोधित तेलको लागत पनि घट्ने भएकाले मूल्य समायोजन हुनुपर्ने उनको तर्क छ।

उनले मूल्य घट्ने अवस्थामा सूचना लुकाएर पुरानै प्राविधिक कारण देखाउनु सुशासन, पारदर्शिता र व्यवस्थापकीय क्षमताको अभाव भएको दाबी गरेका छन्। स्वचालित मूल्य प्रणालीअनुसार भाउ बढ्दा जस्तै घट्दा पनि तत्काल समायोजन गरी उपभोक्तालाई राहत दिन सरकार र निगमले पहल गर्नुपर्ने उनले बताएका छन्।
































