
रमेश बहादुर सिंह /बझाङः सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत जयपृथ्वी नगरपालिका–८, जोशीगाउँ, स्थित जालपा आधारभूत विद्यालय लाई शैक्षिक तथा भौतिक सामग्री सहयोग गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा बैंकले विद्यार्थीहरूको पठनपाठनलाई सहज र गुणस्तरीय बनाउन ५० पृष्ठका ३६ दर्जन कापी, ४० दर्जन पेन्सिल, ३२ दर्जन कलम, ३ वटा ह्वाइट बोर्ड, ९ वटा हेभी प्लास्टिक कुर्सी तथा ५ वटा प्लास्टिक डस्टबिन हस्तान्तरण गरेको हो। उक्त सामग्रीबाट विद्यालयका ७२ जना विद्यार्थी प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सिटिजन्स बैंकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बैंकका प्रतिनिधिले शिक्षा क्षेत्रको विकास र सामुदायिक उत्थानमा योगदान पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सहयोग गरिएको बताए। विद्यालय परिवारले बैंकप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्रीले विद्यार्थीहरूको सिकाइ वातावरण थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
































