
नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दको उपचारका क्रममा निधन भएको छ। बैतडीको दशरथचन्द नगरपालिका–१० बुड्डा घर भएका चन्द हाल ललितपुर महानगरपालिका–१८ नख्खुस्थित सिर्जनामार्गमा बस्दै आएका थिए। उनको बुधबार बिहान ६ः५५ बजे मेडिसिटी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ।

ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीका अनुसार चन्द असार ५ गते घरमै एक्कासी लडेर घाइते भएका थिए। तत्काल अस्पताल पुर्याएर उपचारपछि सोही दिन डिस्चार्ज गरिए पनि असार १० गते पुनः स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई फेरि अस्पतालमा भर्ना गरिएको थियो। त्यसयता उनी आईसीयूमा उपचाररत थिए।

२०८१ मंसिरमा नेपाल प्रहरी सेवाबाट अवकाश प्राप्त गरेका चन्दको निधनले प्रहरी संगठनसँगै विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई मर्माहत बनाएको छ। नेपाल प्रहरीले उनको योगदानको स्मरण गर्दै गहिरो दुःख व्यक्त गरेको छ भने विभिन्न व्यक्तित्वहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्।

पूर्व डिआइजी चन्दको निधनसँगै उनको पुख्र्यौली गाउँ बैतडीको बुड्डा शोकमा डुबेको छ। स्थानीयवासी तथा आफन्तजनले राष्ट्र र प्रहरी संगठनप्रति उनले पुर्याएको सेवाको उच्च मूल्यांकन गर्दै उनको आत्माको चिरशान्तिको कामना गरेका छन्।
































