
फिफा विश्वकप फुटबलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। डलास स्टेडियममा शनिबार बिहान भएको खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म दुवै टोली १–१ गोलको बराबरीमा रहेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो।

इजिप्टका लागि १३औँ मिनेटमा इमाम आशुरले हेडमार्फत गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए। तर ५५औँ मिनेटमा मोहम्मद हानीबाट भएको आत्मघाती गोलका कारण अस्ट्रेलियाले खेल बराबरीमा ल्यायो। त्यसपछि थप समयमा पनि गोल ननिस्किएपछि पेनाल्टी सुटआउटमा इजिप्टले उत्कृष्ट प्रदर्शन गर्दै ४–२ को जित निकाल्यो।

यस जितसँगै इजिप्टले अन्तिम १६ मा स्थान बनाएको छ। अब उसले अर्जेन्टिना र केप भर्डेमध्ये विजयी हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

































