
देशभर पछिल्ला तीन दिनदेखि सक्रिय मनसुनका कारण व्यापक वर्षा भए पनि आज भने तुलनात्मक रूपमा वर्षा कम भएको छ। पछिल्लो १२ घण्टामा सुदूरपश्चिमका एक–दुई स्थान तथा अन्य प्रदेशका केही क्षेत्रमा वर्षा भए पनि अधिकांश स्थानमा ठूलो पानी परेको छैन।

पछिल्लो तीन घण्टामा मकवानपुरको सिलिङ्गे, भक्तपुरको ताथली, खोटाङको ऐसेलुखर्क र प्यूठानको सेउलीबाङलगायतका क्षेत्रमा २० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। यद्यपि देशका धेरैजसो स्थानमा उल्लेखनीय वर्षा नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज बेलुका र राति भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, सर्लाहीलगायत केही जिल्लामा भारी वर्षाको सम्भावना रहेको छ। मनसुन अझै सक्रिय रहेकाले कुनै पनि क्षेत्रमा एक्कासि ठूलो वर्षा भई बाढी, पहिरो तथा डुबानजस्ता विपद् निम्तिन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

यता, धान रोपाइँका लागि पर्याप्त वर्षाको अपेक्षा गरेका किसानले धेरै स्थानमा अझै पर्याप्त पानी नपरेकाले रोपाइँ प्रभावित भएको बताएका छन्। आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने मौसमविद्ले बताएका छन्।
































