
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले पूर्व स्वीकृतिविना सञ्चालन हुने घुम्ती व्यापार तथा सडक अतिक्रमणविरुद्ध कडाइ गर्ने भएको छ। नगरपालिकाको क्षेत्रभित्र अनुमति नलिई मोटरसाइकल, टाँगा, रिक्सा, मिनी ट्रकलगायत सवारी साधनमार्फत व्यापार व्यवसाय गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टले जानकारी दिए।

नगरपालिकाका अनुसार बजार तथा ग्रामीण क्षेत्रमा पूर्व स्वीकृतिविना घुम्ती व्यापार गर्नेमा अधिकांश भारतीय नागरिक रहेको गुनासो आएपछि अनुगमन कडा पारिएको हो।

यससँगै सडक, सडक किनारा तथा सार्वजनिक स्थानमा पशु बाँध्ने, बालुवा, गिट्टी, ढुंगा, काठ, इँटा, माटोलगायत निर्माण सामग्री थुपार्ने र अनुमति बिना सडक खनेर क्षति पुर्याउने कार्य पनि रोकिने भएको छ।

यस्ता गतिविधिले आवागमनमा बाधा र दुर्घटनाको जोखिम बढाएकाले नगरपालिकाले सडक मापदण्ड कार्यविधि–२०७६ अनुसार कारबाही गर्ने चेतावनी दिएको छ। नगर प्रहरी परिचालन गरी नियमित अनुगमन र सचेतनामूलक अभियानसमेत सञ्चालन भइरहेको जनाएको छ।
































