
अत्तरियाः कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित दुई सामुदायिक विद्यालयले कुमारी बैंक लिमिटेड, गुलरिया शाखाबाट संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत आवश्यक शैक्षिक सामग्री तथा उपकरण सहयोग प्राप्त गरेका छन्।

बैंकले श्री राष्ट्रिय माध्यमिक विद्यालय, पहरिया, कृष्णपुर–१ लाई १० थान सिलिङ पंखा र २० थान कुर्सी उपलब्ध गराएको छ। त्यसैगरी श्री समैजी माध्यमिक विद्यालय, कृष्णपुर–५, गुलरियालाई इन्भर्टर तथा ब्याट्री सेट हस्तान्तरण गरिएको छ। बैंकका अनुसार यस सहयोगले विद्यालयमा अध्ययन–अध्यापनका लागि थप सहज वातावरण सिर्जना हुने अपेक्षा गरिएको छ।

कुमारी बैंक कृष्णपुर गुलरिया शाखाका प्रमुख दिपेन्द्र रोकायाले शिक्षा क्षेत्रमा सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्वको महत्वपूर्ण हिस्सा भएको बताए। उनले भने, “गुणस्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधारमा सहयोग पुर्याउने उद्देश्यले यी सामग्री हस्तान्तरण गरेका हौँ। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने हाम्रो प्रतिबद्धता रहेको बताएका छन ।”

विद्यालय व्यवस्थापन तथा स्थानीयले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
































