
राइड सेयरिङ श्रमिक गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि विभिन्न राइडर तथा प्लाटफर्म श्रमिक संगठनहरूले गहिरो दुःख व्यक्त गर्दै सरकारसँग श्रमिकको अधिकार सुनिश्चित गर्न र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्।

राइडर्स युनियन नेपाल, नेपाल प्लाटफर्म वर्कर्स युनियनलगायतका संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीहरूले यो घटना केवल एक श्रमिकको मृत्यु नभई गिग तथा प्लाटफर्म अर्थतन्त्रमा काम गर्ने हजारौँ श्रमिकको असुरक्षा उजागर गर्ने दुःखद् उदाहरण भएको बताएका छन्। साथै श्रमिक अधिकारका सवाललाई अझ सशक्त रूपमा उठाउने प्रतिबद्धता पनि जनाएका छन्।

युनियनहरूले सरकार र सम्बन्धित कम्पनीसँग मृतकका परिवारलाई उचित क्षतिपूर्ति, आश्रित परिवारको भरणपोषण तथा सामाजिक सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्। यससँगै गिग तथा प्लाटफर्ममा आधारित श्रमिकहरूले सरकारलाई ज्ञापनपत्र बुझाउँदै श्रम ऐनअनुसार संगठित हुने र सामूहिक सौदाबाजीको अधिकार सुनिश्चित गर्न, प्लाटफर्म श्रमिकसम्बन्धी छुट्टै कानुन निर्माण गर्न तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का सम्बन्धित मापदण्ड अनुमोदन गर्न आग्रह गरेका छन्।

यस्तै, श्रमिक–रोजगारदाता–सरकार सम्मिलित त्रिपक्षीय संवाद समिति गठन, राइड सेयरिङसम्बन्धी विवाद समाधानका लागि श्रम अदालतमा द्रुत र निःशुल्क सेवा तथा इन्धन र जीवनयापनको लागतअनुसार भाडादर पुनरावलोकन गर्नसमेत उनीहरूले माग गरेका छन्।
































