
सुनसरीको इटहरीमा नेपाल विद्युत प्राधिकरणको स्कोर्पियो दुर्घटना हुँदा दुई कर्मचारीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सोमबार राति दुहबी–धरान ३३ केभी प्रसारण लाइनमा देखिएको समस्या समाधान गर्न पेट्रोलिङ तथा मर्मतका लागि जाँदै गरेको बा १ ञ १६५१ नम्बरको स्कोर्पियो इटहरी–२० स्थित सेउती पुलनजिक अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा धरान–१३ निवासी करार चालक ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ निवासी ४९ वर्षीय स्थायी कर्मचारी सुमन आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते दुवैलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा धरान–२० निवासी ३२ वर्षीय पदम राई घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र उपचार भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

स्कोर्पियो पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण गाडी अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।































