
देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालका तराई क्षेत्र नजिक रहेकाले वर्षाको प्रभाव बढेको हो।

हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश स्थानमा बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। कोशी, बागमती र गण्डकीका धेरै स्थान तथा लुम्बिनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा व्यापक बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिममा पनि सामान्य बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकीका पहाडी तथा तराई क्षेत्र, मधेस प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै कोशी, बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

रातिको समयमा पनि देशभर बदली कायम रहनेछ। कोशी प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी–नाला आसपासका बासिन्दा, यात्रु तथा पहाडी सडक प्रयोग गर्नेहरूलाई सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्। चट्याङ, बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।































