
धनकुटाको प्रमुख दाहसंस्कार स्थल मुलघाटमा सोमबार आएको आकस्मिक बाढीले तमोर नदी किनारमा जल्दै गरेको एक चिता बगाएपछि केही समय दाहसंस्कार कार्य प्रभावित भएको छ। धनकुटा–६ आत्माराकी गौरी रोक्काको दाहसंस्कार भइरहेका बेला नदीको जलस्तर एक्कासी बढ्दा करिब ७५ प्रतिशत जलेको चिता बाढीले नदीको बीच भागतर्फ बगाएको हो।

प्रत्यक्षदर्शी तथा त्रिवेणी माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपक पोख्रेलका अनुसार त्यसबेला चारवटा शवको दाहसंस्कार भइरहेको थियो। अर्को एउटा चिता पनि बाढीको बहावले पल्टाएपछि सहभागीहरूले शवलाई सुरक्षित स्थानमा सारेर माथिल्लो भागमा नयाँ चिता निर्माण गरी दाहसंस्कार सम्पन्न गरेका थिए।

मुलघाट धनकुटा जिल्लाको मुख्य दाहसंस्कार स्थल भए पनि वर्षायाममा तमोर नदीको बहाव बढ्दा जोखिम बढ्ने गरेको छ। केही वर्षअघि बाढीले क्षति पुर्याएपछि डिजेलबाट सञ्चालन हुने दाहसंस्कार गृहसमेत बन्द अवस्थामा छ। स्थानीयले सुरक्षित र स्थायी दाहसंस्कार स्थल निर्माणको माग दोहोर्याउँदै आएका छन्। वर्षायाममा आकस्मिक बाढीको जोखिमलाई मध्यनजर गर्दै आवश्यक सुरक्षा व्यवस्था र दीर्घकालीन पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ।
































