
सुदूरपश्चिम प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठक सुरु भएको छ। संसदीय दलको कार्यालयमा जारी बैठकमा प्रदेश सरकारको नयाँ सत्ता समीकरण, बजेट पारित गर्ने अवस्था तथा आगामी रणनीतिबारे छलफल भइरहेको छ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट पारित गर्न सहयोग र त्यसपछि सत्ता सहकार्यको प्रस्ताव नेकपालाई गरेका थिए। तर, नेकपाले उक्त प्रस्ताव अस्वीकार गरे पनि दुवै पक्षबीच अनौपचारिक संवाद भने जारी रहेको बताइएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर कांग्रेस–एमालेबीच विवाद चर्किएपछि सत्ता गठबन्धन भंग भएको थियो। अब मुख्यमन्त्री शाहले बिहीबार राति १२ बजेभित्र बजेट पारित गराउनुपर्ने संवैधानिक बाध्यता रहेको छ।
निर्धारित समयभित्र बजेट पारित हुन नसके वा वैकल्पिक व्यवस्था गर्न नसकिए प्रदेशमा ‘बजेट शून्यता’को अवस्था सिर्जना हुने जोखिम बढेको छ। त्यसैले आजको राजनीतिक निर्णयले प्रदेश सरकारको भविष्य तय गर्ने अपेक्षा गरिएको छ।





























